छाउगोठ भत्किए, कुरीति भत्किएन

पौष २७, 
बुढीनन्दा नगरपालिका वडा नं ९ को अगाउँपानी स्थित छाउगोठमा निस्सासिएर मंगलबार राति तीनजनाको मृत्यु भयो । काशी बोहोराकी ३५ बर्षीया श्रीमती अम्बा बोहोरा सहित उनका दुई छोराले एक साथ ज्यान गुमाएका हुन् ।

 

अम्बा बोहोरा महिनाबारी भएको चार दिन पुगिसकेको थियो । चार दिनको राति उनी ज्यान गुमाउन बाध्य भइन् । उनका ९ बर्षे छोरा सुरेश बोहोरा र ७ बर्षका छोरा रमितको समेत छाउगोठमै मृत्यु भयो । आमाले चिसोमा छोरा सँगै सुत्दा तातो होला भनेर दुबै छोरा लाई गोठमा लगेकी थिइन् । घर सँगै जोडिएको छाउपडी गोठ थियो । स्थानीयका अनुसार राति आगो बालेर सुतेका बेला कम्बलमा आगो सल्किए पछि उनीहरुको मृत्यु भएको हो । यो त पछिल्लो उदाहरण मात्रै हो । प्रदेश नम्बर ६ र ७ का धेरै महिलाले यसैगरी छाउगोठमै मृत्युवरण गरिरहेका छन् । अछाममा मात्रै एक दशकमा १२ जना महिलाले छाउगोठमै मृत्युवरण गरिसकेका छन् । बाजुरा, अछाम, डोटी, बझाङ्ग, मुगु कालिकोट, बैतडी, दैलेख लगायतका जिल्लामा छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । महिनावारी भएको समयमा अविवाहित महिलाले ७ दिनसम्म र बिवाहित महिलाले ५ दिन सम्म घर बाहिर निस्केर छाउपडी गोठमा बस्नुपर्ने बाध्यता छ । महिनावारीको समयमा उनीहरुले निकै नै सास्ती व्यहोर्नु पर्छ । महिनावारी भएको ५ देखि ७ दिन सम्म घर बाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पँधेरा प्रयोग गर्न नपाउने र दूधजन्य पदार्थ नपाउने नियम छ । उनीहरुले फलफूलजन्य वनस्पति छोएमा कडा हप्की सहनुपर्ने हुन्छ । संयोगले कसैको शरीरमा छोइए दुर्वाच्य सुन्नुपर्ने हुन्छ । महिनावारी हुँदाको समयमा देवी देवता रिसाउँछन् भन्ने कुप्रथाले गर्दा महिला लाई घरमा बस्न दिइँदैन । चिसो महिना सुरु भए पछि छाउपडी गोठमा बिरामी पर्ने र ज्यान जानेको संख्या बढ्छ । घरबाट टाढा गोठ हुन्छ, नुहाउन र लुगा धुनलाई पानी हुँदैन, धोएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ, घरबाट पातलो लुगा दिइन्छ । सिधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धुवाँ बाहिर जान पाउँदैन र गोठभित्रै निसास्सिएर बस्नुपर्छ । चिसो महिनामा छाउपडी गोठमा बसेकी आमासँग रहने स–साना बालबच्चाले झनै सास्ती पाउँछन् । उनीहरु कठांग्रिएर, निसास्सिएर वा निमोनिया भएर ज्यान गुमाउन बाध्य हुन्छन् । छाउगोठमा बसेकी आमा र बच्चाले दूध, दही खान नपाउनेलगायतका अन्धविश्वासका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै, धेरै बालबालिकाले कुपोषणको शिकार बन्नुपरेको छ । टाढाको गोठमा जाँदा कतिपय महिलाहरुले बलात्कृतसमेत हुनुपरेको छ ।छाउपडी कुप्रथाहटाउने प्रयासहरु नभएका होइनन् । तर, जेजति लगानी गरियो, त्यसअनुसारको प्रतिफल आएन । कुप्रथा हटाउन सरकारी निकायका साथै गैरसरकारी संस्थाले धेरै कार्यक्रमहरु सञ्चालन गरे पनि प्रथा कायमै छ । बुढीनन्दा ३ बस्ने अमला बिक छाउपडी गोठमा बस्न थालेको १४ बर्ष भयो । प्रथम पटक महिनावारी भएदेखि नै उनी गोठमा बस्दै आएकी थिइन् । दुई वर्षअघि गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काए पछि अहिले महिनावारी भएका बेला उनी ओढारमा बस्न थालेकी छिन् ।

 

अमला जस्तै गाउँका अन्य महिला पनि छाउपडी गोठ भत्काए पछि कोही प्लाष्टिकको पालमा बस्दै आएका छन् त कोही ओढारमा बस्न थालेका छन् । गोठामा बस्दा यति ग्राहो हुँदैनथ्यो, तर पालमा र ओडारमा बस्दा झनै समस्या झेल्नु परेको अर्की महिला जौमा बिक बताउँछिन् । बुढीगंगा, जयबागेश्वरी, बाह्रबिसे, कुल्देबमाण्डौ, कैलाशमाण्डौ, आटिचौर, बह्रमतोला गाबिस र अन्य गाबिसका केही वडाहरु छाउपडी गोठमुक्त भइसकेका छन् । तर, गोठ भत्काउने अभियान पछि महिलाहरु झन समस्यामा परेको बताउँछन् ।अछाम जिल्लामा साबिकका ३१ वटा गाविस छाउपडी गोठमुक्त भइसकेका भए पनि गोठमा बस्ने प्रचलन भने हटन सकेको छैन । अछाम जिल्ला लाई ०७६ सम्म छाउगोठ मुक्त घोषणा गरिसक्ने लक्ष्य लिइएको थियो । एकातिर कागजमा घोषणा अभियान चल्ने र अर्को तिर छाउपडी गोठमा महिलाहरु मर्ने क्रम रोकिएको छैन । बाजुरा जिल्लामा साबिकका ७ वटा गाविस छाउपडी गोठ मुक्त भएका छन् । 

प्रतिकृया दिनुहोस