जनप्रतिनिधि नै छाउ बार्छन्

पौष २७

 मुलुकी अपराध संहिताले महिनावारी भएका बेला गरिने विभेद लाई अपराध मानेको छ । यो कुप्रथा हटाउन लाग्नु पर्ने मुख्य दायित्व बोकेका अछाम र बझाङका महिला जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउ बार्ने गरेका छन् ।


बझाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएका बेला घर भित्रै बसे पनि भान्सा र धारा छुने छुट छैन। घर भित्र बस्न पनि उनले थुप्रै संघर्ष गर्नुपर्‍यो। ‘सासूससुराले मान्दै मान्नुभएन, छाउ भएका बेला छोएर घर बिगारी भनी गाली गर्नुभयो,’ उनले भनिन्, ‘निकै सम्झाए पछि आफ्ना कोठामा सुत्नसम्म थालेकी छु।’ स्थानीय तहका महिला जनप्रतिनिधिले विकले जति घर भित्र बस्ने आँटसमेत गर्न सकेका छैनन्। ‘मर्ने बेला भएका बूढाबूढीको चित्त के दुखाउनु जस्तो लाग्छ, त्यही भएर छाउगोठमै बस्ने गरेकी छु,’ बझाङको थलारा गाउँकार्यपालिकाकी सदस्य निर्मला विष्ट भन्छिन्, ‘उहाँहरू ९सासूससुरा० को शेष पछि हाम्रो घरमा पनि यो प्रथा रहँदैन।’ उनले आफूहरूले महिनावारी नबारेको थाहा पाए बूढाबूढी चिन्ताले बिरामी पर्ने बताइन्। बझाङमा छाउप्रथा हटाउन क्रियाशील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी छाउ बार्छिन्। आफ्नै कोठामा सुते पनि भान्छासम्म पस्न आँट नगरेको उनले बताइन्। ‘महिनावारी भएको बेला बरु होटलमा खाना खाने गरेका छौं, लामो समयदेखि मान्दै आएको विश्वास एक्कासि तोड्न गाह्रो हुँदो रहेछ।’ छाउ बार्ने सम्बन्धमा उनले आफ्नो वास्तविकता बताइन्। बझाङकी अधिकारकर्मी एवं शिक्षिका सुशीला खड्का बाध्यताले छाउ बार्नु परिरहेको बताउँछिन्। ‘विद्रोह गर्न मन लाग्छ तर यही विषयले घरमा झगडा हुन्छ,’ उनले भनिन्, ‘अरूको मन राख्न बार्ने गरेकी छु। अरूको पनि यस्तै बाध्यता होला।’ अछाममा पनि उस्तै छ। सार्वजनिक पद धारण गरेका व्यक्ति नै छाउ बार्छन्। १० वटा स्थानीय तहमा १ सय ९० महिला जनप्रतिनिधि छन्। सबैले छाउ बार्छन्। जनप्रतिनिधिकै घरमा महिनावारी भएको बेला दूध, दही खान नपाउने, भान्सामा जान नपाउने चलन छ।

 

गत जेठमा तुर्माखाँद गाउँपालिका ४, सर्पले डसेर जयगाउँकी १८ वर्षीया पार्वती बुढाको मृत्यु भएपछि स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउने सल्लाह गरे। प्रहरीले गाडेको शव चार दिनपछि निकालेर पोस्टमार्टम गरेको थियो। जनप्रतिनिधि, अगुवा यसरी संलग्न भएको र छाउ बार्ने गरेको यो एउटा प्रतिनिधि घटना हो। मंगलसैन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्याय महिनावारी भएका बेला अलग्गै कोठामा बस्छिन्। खाना पकाउने कोठामा जान नमिल्ने उनले बताइन्। ‘घरको छुट्टै कोठामा बस्छु, ५ दिनसम्म भान्सा छुँदिनँ,’ उनले भनिन्, ‘परम्परागत मान्यता तोड्न सकिएको छैन।’ मंगलसैन नगरपालिका ५ की वडासदस्य पारु नगार्जीले महिनावारी भएका बेला सासूससुराले घर छुन नदिने बताइन्। ‘५ दिन अलग्गै बस्छु,’ उनले भनिन्, ‘विद्रोह गरेर उहाँहरूको चित्त दुखाउन सकिँदैन।’बान्नीगढी जयगढ गाउँपालिका ५ की वडा सदस्य रतन दमाई छाउगोठमै बस्छिन्। ‘छाउ भएका बेला घर भन्दा अलि पर गोठमा बस्छु, घरमा बस्ने आँट आउँदैन,’ उनले भनिन्, ‘बिस्तारै घर नजिक बस्न सुरु गर्छु। घरभित्र बस्ने आँट छैन।’

प्रतिकृया दिनुहोस