आजदेखि फिल्म हलमा बक्स अफिस प्रणाली लागू

काठमाडौं  :

साउन १ गतेबाट उपत्यकाका सम्पूर्ण हलमा बक्स अफिस प्रणाली लागू भएको छ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार चलचित्र विकास बोर्डको सभा हलबाट उद्घाटन गरेपछि बक्स अफिस प्रणाली औपचारिक रूपमा सुरु भएको हो ।

उद्घाटनपछि मन्त्री बाँस्कोटाले चलचित्र क्षेत्रले लामो समयदेखि देखेको सपना साकार भएको बताए । ‘बक्स अफिस प्रणाली लागू नगर्ने विषयमा लामो समयदेखि विवाद मात्र होइन दबाब पनि आएका थिए’, उनले भने, ‘तर सम्भव भएका ठाउँबाट यो प्रणाली लागू गरेका छौं ।’ नेपाली चलचित्र क्षेत्र वास्तवमै बेहाल भएको बताउँदै उनले अब निर्माता तथा कलाकारलाई यो प्रणालीबाट राहत मिल्ने बताए । बक्स अफिस लागू भएसँगै अब छिट्टै क्लिन फिडको विषय पनि टुंगो लगाउने मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘अब विज्ञापनमा डबिङ गर्ने काम बन्द हुँदैछ’, उनले भने । बक्स अफिस लागू भएसँगै फिल्म निर्मातालाई देशको पहिचान दिलाउने फिल्म बनाउन पनि उनले आग्रह गरे ।

बक्स अफिस लागू नहुँदा वर्षाैंदेखि निर्माताले आफ्नो फिल्मको वास्तविक कारोबार बुझ्न पाएका थिएनन् । अब अनलाइन डाटाको माध्यमबाट सिनेमाको सम्पूर्ण कारोबार थाहा पाउन सकिनेछ।बक्स अफिस फिल्म व्यवसायको डाटा केन्द्रीकृत गराउने प्रविधि हो । सम्पूर्ण हलबाट सफ्टवेयरमार्फत सर्भरमा लिंक गराउँदै यसले तथ्यांक संकलन गर्छ । सर्भरमा जम्मा भएको तथ्यांक फिल्मका निर्माता तथा वितरकलाई दिइन्छ ।

सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमएस्) नाम दिइएको उक्त प्रणालीलाई ब्रेन डिजिट आईटी सोलुसनले तयार पारेको हो । उद्घाटन कार्यक्रममा आईटी सोलुसनका नितेश गोर्खालीले बक्स अफिस प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा जानकारी गराएका थिए । नितेश भन्छन्, ‘यस किसिमको डाटा कलेक्सन प्रविधि प्रयोग गर्नेमा नेपाल पहिलो चरणमै छ’। अझै धेरै विकास गर्न बाँकी छ । हालका लागि उपत्यकामा रहेका ११ मल्टिप्क्स र नौ सिनेमा हलको डाटा तत्काल हेर्न सकिने बताउँदै उनले यसको सम्पूर्ण तथ्यांक राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहने बताए । नितेश भन्छन्, ‘अन्य देशमा निजी क्षेत्रबाट यस्तो प्रणाली लागू गरिए पनि नेपालमा भने राज्यको तर्फबाट लागू भएको छ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्स अफिस लागूपछि फिल्ममा लगानी गर्ने लगानीकर्ताको अन्योलको अन्त्य भएको बताए । ‘यो प्रणालीले राज्यलाई फिल्म उद्योगबाट राजस्व संकलन गर्न पनि सहज भएको छ’, उनले भने, ‘अब कसैले पनि एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन सक्दैनन् ।’वर्तमान सरकारद्वारा जारी २०७५÷०७६ को बजेटमा राजस्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ लागू गर्ने निर्णयपश्चात् साउन १ गतेदेखि काठमाडौं उपत्यकामा बक्स अफिस प्रणाली लागू गरिएको हो । चलचित्र विकास बोर्डले वैशाख १ गतेबाटै बक्स अफिस लागू गर्ने भने पनि कार्यान्वयन हुन सकेको थिएन । उपत्यका बाहिरका हलमा अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्स अफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ ।

प्रतिकृया दिनुहोस