दूधले नुहाएको को नै छ र ?

निजामती कर्मचारी भनेका स्थायी सरकार हुन् । राजनीतिक नेतृत्व आवधिक निर्वाचनबाट आउँछ । निश्चित समयसम्म शासन सत्ता सन्चालन गर्छ र फेरि चुनिएर अर्को पटक अर्को आउँछ, कहिलेकहीँ उही प्रतिनिधि आउने पनि हुन सक्छ तर निजामती अर्थात प्रशासन संयन्त्र भनेको स्थायी किसिमको हो । सँधै स्थायी रुपमा बस्ने, स्थायी रुपमा काम गर्ने, स्थायी रुपमा नागरिकको सेवा गर्ने र नागरिकको पिरमर्का बुझ्ने संयन्त्र भएकाले राष्ट्रसेवकहरुको संयन्त्रलाई स्थायी सरकार भन्ने गरिएको हो । राजनीतिक दलको निर्वाचित सरकार होस् वा नहोस् यो चाहिँ सधैं रहिरहन्छ । यसले नियमित प्रकृतिका काम गरिरहन्छ । यसको उदेश्य भनेकै लोककल्याणकारी काम गर्ने हो । नागरिकलाई सहज रुपमा सरल तरिकाले जनचाहना अनुरुप सेवा पुर्याउनु नै निजामती कर्मचारीको काम हो । यसप्रति नागरिकको ठूलो अपेक्षा पनि छ । नागरिक र सरकारबीचको सम्बन्ध सेतुको काम गर्ने हुनाले निजामती सेवाको झनै ठूलो महत्व छ । 

सकारात्मक छैन कर्मचारीलाई हेर्ने दृष्टिकोण 

पछिल्लो समयमा निजामती सेवाप्रति नागरिकको हेर्ने दृष्टिकोण सकारात्मक छैन भन्ने कुरो केही हदसम्म सहि हो । निजामति मात्रै होइन सुरक्षा संयन्त्रमा काम गर्ने तथा सबै   राष्ट्रसेवक प्रति हेर्ने दृष्टिकोणमा केही नकारात्मक सन्देश गएकै हो । यति ठूलो संस्थामा सबै राम्रा हुन्छन् भन्ने छैन । केही कर्मचारीको काम गर्ने तौर तरिका, नागरिकलाई दिने सेवा तथा कर्मचारीमा आउने नकारात्मक अपेक्षाले गर्दा छवि केही धुमिलिन खोजेको पक्कै हो ।  अर्को कुरो भनेको सरकार स्थायी र बलियो नहुँदा र त्यसले प्रशासन संयन्त्रमा पनि फेरबदल ल्याइरहँदा कर्मचारीलाई काम गर्न पनि अप्ठेरो रहँदै आयो ।  राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र खराम काम गर्नेलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी रुपमा लागू नहुँदा पनि कर्मचारीमा मनोपोली देखियो । आर्थिक र नैतिक रुपमा चुकेका, सेवा प्रवाहमा ढिलाई र नागरिकलाई झुलाई मात्र रहने प्रवृत्तिका केही कर्मचारीका कारण समग्र निजामती तथा राष्ट्रसेवकलाई हेर्ने दृष्टिकोण नै  नकारात्मक अवस्थामा पुगेको हो कि भन्ने पनि रह्यो ।  तर यो भनिरहँदा सबै निजामती कर्मचारी वा राष्ट्रसेवक कर्मचारी खराब छन् भन्ने होइन । बरु केही खराब प्रवृत्तिका कर्मचारीका कारण संस्थाको गरिमामा केही धुमिल आउन खोजेको मात्र हो । निजामती सेवा ऐनले निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरणको स्पष्ट रुपमा उल्लेख गरिदिएको छ ।  हाम्रो अहिलेको अवस्था कर्मचारीहरु विभिन्न संघसंगठन तथा कुनै राजनीतिक संगठनसँग आवद्ध हुने, निश्चित कर्मचारी राजनीतिक आवरणमा सम्पर्क बढाएर शक्तिकेन्द्रको नजिक हुने, आफ्नो जिम्मेवारी पूरा नगर्ने खालका पनि छन् । 

काम गर्ने ढर्रा नै प्रकृयामुखी

कतिपय अवस्थामा निर्वाचित प्रतिनिधि एवं मन्त्रीले चाहँदैमा ऐन नियम कानुनको बर्खिलाप हुन आउने काम कर्मचारीले गरिदिएन भने त्यसलाई राजनीतिक नेतृत्वले वा भनौँ जनप्रतिनिधिले असहयोगको रुपमा लिनुहुन्न । राजनीतिक संयन्त्रले कर्मचारीलाई काममा लगाउँदा त्यो काम नीतिगत छ कि छैन भन्ने बारेमा पहिला राजनीतिक संयन्त्र स्पष्ट भइदिए काम गर्न सहज हुन्छ । यदि साँच्चै राम्रो उद्धेश्यले काम गर्न थालिएको छ, तर कर्मचारी बाधक बन्छन भने त्यस्ता कर्मचारीलाई कारबाही गर्न सकिन्छ । हाम्रा काम गर्ने तौर तरिका तथा हाम्रा ऐन, नियम पनि नतिजामुखी होइन कि प्रकृयामुखी  छ । कुनै काम गर्दा पहिला प्रकृया पुर्याउनु जरुरी हुन्छ । अहिले रहेको प्रकृयामुखी ऐन, कानुन सुधार गरेर नतिजामुखी बनाउनु जरुरी छ । कुनै पनि राष्ट्रसेवक कर्मचारीले चाहेर पनि सरकारको काममा असहयोग गरौं अथवा यो काम नगरौँ भन्छन् जस्तो मलाइ लाग्दैन । कतिपय अवस्थामा राजनीतिज्ञले नतिजा छिटो खोज्ने तर प्रकृया मिलाउँदा समय लाग्ने हुँदा सहयोग नगरेको हो कि भने जस्तो पर्न गएको हुन सक्छ । तर विकास निर्माणका काममा राष्ट्रसेवकहरुले पनि छिटो र नतिजामुखी काम नगरी अलिकति समय लगाउने अथवा व्यक्तिगत स्वार्थ जोडिने कतिपय अवस्था नरहला भन्न पनि सकिँदैन तर त्यस्तो अवस्थामा सम्बन्धित निकायले काममा ढिलाई गर्नेलाई कारबाही गर्नु उपयुक्त रहन्छ ।  ढिलासुस्ती गर्ने, अटेर गर्ने र नीति नियम पालना नगर्ने कर्मचारीलाई कारबाही गरेर अघि बढ्दा नै निजामति संस्थाको गरिमा बढ्न जान्छ । 

शासक होइन, सेवक बनौँ 

हामी नागरिकको सेवक हौं । हाम्रो मुख्य ध्येय नै नागरिकलाई सेवा पुर्याउनु हो । हामीले लिएको सम्पूर्ण सेवा सुविधा भनेको नागरिकबाटै संकलित कर हो । त्यही भएर उहाँहरुको समस्या सुनिदिने, तत्कालै समस्या समाधानमा अग्रसरता भइदिने, सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ । नागरिकलाई सेवा प्रवाह गर्न आएका हौँ भन्ने भावना हामीमा हुनु जरुरी छ । यसले हामी शासक पो हौं कि भन्ने भान हट्छ र नागरिकलाई पनि यिनीहरु शासक होइन रहेछन् हाम्रै सेवक रहेछन् भन्ने विश्वास हुन्छ ।  नागरिकले विगतमा पनि निजामती कर्मचारीहरु हाम्रै सेवक हुन भनेर सम्मान गर्थे । आज पनि नागरिकको उत्तिकै विश्वास र भरोसा छ । हामीभित्र रहेका केही कर्मचारीले खराब गरेको भरमै सबै कर्मचारीलाई एउटै बास्केटमा हालेर सबै खराब छन् भन्ने मूल्यांकन गर्नुहुँदैन । नागरिक प्रति उत्तरदायी बनौँ, सेवा प्रवाहमा अत्यन्त सचेत बनेर अगाडि बढौँ यसलाई नागरिकले पनि साथ दिनुका साथै सकारात्मक लिन्छन् । अब हामीलाई चाहिएको भनेको सुधारिएको निजामती सेवा हो । अर्थात नागरिकको हितमा काम गर्ने निजामति सेवा चाहिएको हो । परम्परागत सोचबाट माथि उठ्दै हामी नागरिकमा प्रवाह गर्ने सेवा चुस्त बनाउनतर्फ ध्यान दिनु जरुरी छ । सेवा चुस्त बनाउन अब डिजिटल सेवा अर्थात अनलाईन सिस्टमलाई प्रोत्साहन गर्नु जरुरी छ । यस्तै नागरिकले सेवा सुविधा पाए नपाएका बारेमा गुनासा सुन्न सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम गर्नु उपयुक्त हुन्छ । अर्को हरेक कार्यालयमा नागरिक वडा पत्र राखेर त्यसअनुसार काम गर्नुपर्ने कुरालाई प्रोत्साहन गर्नुपर्छ । सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै यस्ता काम राम्रोसँग भए नभएको बारेमा अनुगमन संयन्त्र बनाएर चुस्त सेवा प्रवाहमा अग्रसर हुनु पर्छ ।  

जनप्रतिनिधि पनि जिम्मेवार बन्नुपर्छ 

अब सम्पूर्ण सेवा प्रवाह स्थानीय तहबाटै हुन्छ । नागरिकलाई सेवा प्रवाह गर्ने दायित्व अब कर्मचारीमा मात्रै निहीत छैन । जनप्रतिनिधिको दायित्व पनि उत्तिकै छ । त्यसैले जनप्रतिनिधिले जति राम्रो काम गर्नुहुन्छ, कर्मचारी आफै पनि राम्रो काम गर्न बाध्य बन्छन् । नागरिकलाई चुस्त सेवा दिने सवालमा नागरिकका प्रतिनिधि जिम्मेवार हुनु जरुरी छ ।  

जोखिम मोल्न चाहेन छनौट समितिले  

अहिले निजामती सेवामा झण्डै ९० हजार कर्मचारी कार्यरत छन् । केही दिनअघि मात्रै सरकारले यसमध्येबाट उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्यो । तर ९० हजार भित्रबाट सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न भने सकिएन । गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भनेर घोषणा गरिएन यो वर्ष पनि गर्न सकिएन । कर्मचारीलाई हौसला प्रदान गर्ने सवालमा, राम्रो र नतिजामुखि काम गर्नुपर्छ र यस्तो काम गर्दा पुरस्कृत भइन्छ भन्ने सन्देश दिन पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्नुपर्ने थियो । तर हुन सकेन ।  
उत्कृष्ट कर्मचारी छनौट गर्दा हामी शहर केन्द्रीत मात्रै भयौँ । दूरदराजमा कर्मचारीले कसरी काम गरिरहेका छन् भन्ने बारेमा केन्द्रमा जानकारी पर्याप्त आउने संयन्त्र नै हामीसँग छैन ।  कतिपय अवस्थामा सर्वोत्कृष्ट पाउन दावी गर्ने हकदार पनि धेरै हुनु र छनौट गर्ने समितिले पनि जोखिम लिन नचाहनुले यस वर्ष पनि सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी छनौट गर्न नसकिएको हो कि जस्तो लाग्छ मलाई । निजामती कर्मचारीका लागि यो पुरस्कार पाउनु सबैभन्दा राम्रो अवसर हो । सर्वोत्कृष्ट कर्मचारी छानेर घोषणा गरिदिएको भए त्यसले निजामति कर्मचारीमा अत्यन्तै राम्रो सन्देस जाने थियो । यो हुन नसक्दा निजामति सेवामा योग्य कर्मचारी नै रहेनछन् कि भन्ने सन्देश बाहिर गएको छ ।  पुरस्कृत गर्न सकेको भए राम्रो काम गर्ने मान्छेको मूल्यांकन हुन्छ भन्ने सन्देश जान्थ्यो । पछिका दिनमा पनि त्यसबाट अरुलाई प्रेरणा लिने बाटो खुल्थ्यो ।  अहिले पनि पेशा प्रति अत्यन्तै इमान्दार, आर्थिक तथा नैतिक रुपमा इमान्दार र व्यवसायिक कर्मचारी धेरै छन् । 

१४ वर्षमा ४ जना मात्रै सर्वोत्कृष्ट

हुन त २०६१ सालदेखि हामीले निजामती सेवा दिवस मनाउँदै आएका छौँ । यो १४ वर्षको अवधिमा जम्मा ४ जनाले मात्र सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाएको इतिहास हो हाम्रो । मैले सर्वोत्कृष्ट पुरस्कार पाउनु अघि लगातार दुई वर्ष घोषणा हुन सकेको थिएन । मपछि पनि अहिले लगातार दुई वर्षदेखि यो पुरस्कार घोषणा हुन सकेको छैन ।  अहिले पनि निजामती सेवामा अत्यन्तै सक्षम, अत्यन्त इमान्दार, अत्यन्त राम्रा कर्मचारी  प्रसस्त छन् । तर उनीहरुको कामको योगदान निर्णयकर्ता माझ आइनपुगेको पनि हुन सक्छ । हुन त दूधले नुहाएको को नै हुन्छ र ? राम राज्य संसारमा कहीँ पनि छैन । व्यक्तिमा कुनै न कुनै सामान्य कमिकमजोरी त हुन्छन् नै । केही पनि नभएको व्यक्ति हुन्छन् भन्ने जस्तो मलाई लाग्दैन । भएकामध्येबाट राम्रो छान्ने हो । भएकामध्येबाट छानिएका र बाँकी रहेकासँग तुलना गर्दाखेरी त्यो मान्छे राम्रो देखिए त्यसलाई नेगेटिभ लिनु पर्छ जस्तो मलाई लाग्दैन । 

समृद्धिको मार्गमा हामी

समृद्धि र सुशासनका लागि काम गर्ने नै प्रशासन हो । राजनीतिज्ञले सपना देख्ने हो । त्यो सपनालाई सफलिभूत पार्ने कार्म प्रशासनको हो । नीति राजनीतिज्ञले बनाउँछ, त्यसको कार्यान्वयन मात्रै प्रशासनले गर्छ । प्रशासन संयन्त्र सक्षम, गतिशील, तथा नागरिकप्रति उत्तरदायी भएर अगाडि बढ्नु पर्छ । बढिरहेको पनि छ । निरन्तर हामी अघि बढ्दै गयौँ भने हामी समृद्धिको मार्गमा सजिलै अगाडि बढ्न सक्छौँ । अहिले हामी केही संक्रमणीय अवस्थामा छौँ । संघीयतामा हामी भर्खरै रुपान्तरण भएका छौँ । कर्मचारीहरुको समायोजनको कुरा छ । केन्द्र, प्रदेश र स्थानीय तहमा छिटो भन्दा छिटो कर्मचारीको व्यवस्थापन टुग्याउनु जरुरी छ । यो मेकानिजमलाई सक्षम र सबल बनाउनलाई राजनीतिज्ञले विश्वास गर्ने र प्रशासन संयन्त्रले राजनीतिज्ञलाई सहयोग गर्ने हुनुपर्छ । राजनीतिज्ञ र प्रशासनबीचको अन्तरसम्बन्ध बलियो हुनुपर्छ । त्यो सम्बन्ध भनेको व्यवसायीक, दक्षतापूर्ण हुनु पर्छ । यस्तो हुन सक्यो भने अवश्य नै हामी समृद्धिको मार्गमा अगाडि बढ्छौँ ।  

प्रतिकृया दिनुहोस