दशैंमा ३० करोडको फलफूल आयात हुने

२१ असोज, काठमाडौं 

यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो ।  अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ । ‘दशैंमा स्याउको माग दोब्बरले बढ्छ, अहिले चीनबाट दैनिक जसो ५०(६० गाडीमा डेढ सय टन स्याउ भित्रिरहेको छ, दशैंभरीमा ६०० कन्टेनर स्याउ भित्रिन्छ चाइनाबाट’, उनले भने । भारतबाट स्याउको आयात कम हुने गरेको उनले जानकारी दिए । ६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेको उनको भनार्इ छ ।दशैंका लागि ५०/६० टन केरा भारतबाट आउने उनले बताए ।

‘आन्तरिक उत्पादनले ४० प्रतिशत माग धान्छ, करिब ३/४ करोडको केरा भारतबाट आउँछ दशैंको लागि’, उनले भने ।  आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताउँछन् । स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम,  पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

वाषिर्क सात अर्वको फलफूल विदेशबाट

नेपाल फलफूलमा निर्भर हुन नसक्दा वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ । केरा, स्याउ, सुन्तलाको खेती हुँदै आएपनि त्यसले मुलुकभरको माग धान्न नसक्ने भएकाले विदेशी फलफूल आयात गर्नै पर्ने बाध्यता छ ।  तर किसानले भने सरकारले फलफूल खेतीका लागि उपयुक्त वातावरण नबनाइदिएको र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नतर्फ नलागेको गुनासो गर्छन् ।वर्षभरिमा फलफूल आयातको परिमाण हेर्दा करिब ७ अर्वको हाराहारीको रकम वर्षेनी बाहिरिने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।  सरकारको फलफूलको आयातमा भन्सार मुल्याकंन बढाएकोले लागत बढेको उनले बताए । ‘देशभित्रैको उत्पादनले धान्दैन, आयात गर्नुपर्ने अवस्थामा भन्सार बढाएर उपभोक्तालाई नै मार पर्ने हो’, उनले भने ।  यस वर्ष वर्षातका कारण फलफूल उत्पादन समेत घटेकाले आयात बढ्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस