सन्दीप लामिछानेको अर्को कीर्तिमान, वसन्त रेग्मीलाई उछिने

असोज २७ काठमाडौँ  

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका हुन ।मलेसियामा जारी छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा ४ विकेट लिँदै सन्दीपले राष्ट्रिय टिमबाट एउटै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । कीर्तिमानी प्रदर्शन गर्ने क्रममा आजको खेलमा सन्दीपले व्यक्तिगत पहिलो विकेटका रुपमा सिंगापुरका कप्तान सूर्यवान्सीलाई ९ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । त्यसपछि दोस्रो विकेटको रुपमा सिंगापुरका मनप्रित सिंहलाई सन्दीपले १० रनमा आउट गरेका थिए । सन्दीप त्यतिमै रोकिएनन् । उनले सिंगापुरका सिद्धान्तलाई १५ बलमा १० रन बनाएको अवस्थामा आउट गरिदिए । सन्दीपले अर्को विकेटका रुपमा सोहेब रज्जाकलाई पनि खाता नै खोल्न नदिइ अन्तिम विकेटका रुपमा पेभेलियन फर्काउँदै सिंगापुरलई ८१ रनको झिनो स्कोरमा रोक्न सफल भए । सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिँदै वसन्त रेग्मीको नाममा रहेको कीर्तिमान तोडेका छन् । सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा पनि २३ विकेट लिइसकेका छन् ।यसअघि यो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । त्यो खेल पनि मलेसियामै भएको थियो । दिल्ली डेयर डेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि आफ्नो प्रभाव छाडिसकेका सन्दीपको स्पिन बलिङ अगाडि विपक्षीहरु घुँडा टेक्न बाध्य छन् । मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट झारेका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चिदै ४ विकेट लिएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिदै यो सफलता पाए । त्यसैगरी थाइल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिन सफल भए । तीन ओभर बलिङ गरेका उनले त्यस खेलमा एक मेडन राख्दै ८ रन दिएका थिए । भुटानविरुद्ध पनि सन्दीपले ३ विकेट लिन सफल भए । चार ओभर बलिङ गर्दै उनले २ मेडन लिँदै ६ रन दिएका थिए । चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले चीनविरुद्धको खेलमा १ मेडन ओभर बलिङ गर्दै ४ रन मात्रै खर्चिएका थिए । 

प्रतिकृया दिनुहोस