यात्रा सस्मरण : नफेरिएको व्यबहार र पदयात्राको रमाइलो

जीवन शर्मा

दसैंको सेरोफेरो शुरु भएपछि साथीहरुमा भिन्नै उर्जा शुरु हुन्छ । बिहानी हिंडाई, छेउछाउका डाँडा चढ्ने, साथीभाई प्रत्यक्ष अप्रत्यक्ष नियमित गफ १२/१५ जना बिच बहस शुरु भयो । बिहान, दिउसो, बेलुका जतिबेला पनि टुङ्ग टुङ्ग म्यासेजहरु आउथे, यी सबै प्रकृया, छलफल एउटै कुराको लागि थियो यसपाली पदयात्रा कहाँको गर्ने ? एकदशकको पदयात्राका अनुभव, ब्यक्तिगत देशका घुमाईका आधारमा हामीले छोट्टो पदयात्राका लागि मार्दी छान्यांै । प्रस्तावमा कालापत्थर सोलु, खप्तड क्षेत्र, लाङ्टाङ पनि आएको थियो । यसपाली समय र बिभिन्न कारणले गर्दा ‘मार्दी’ नै छानियो ।

पदयात्रामा निस्कनु अगाडि समूह कत्रो हुने ? कतिजनासम्म जाने ? के गर्ने ? कहिले जाने ? देखी किन जानेसम्म छलफल चल्यो । हामीले यस अघि गरिएका पदयात्राहरुमा पनि यी छलफल हुने गर्थे किनकी हाम्रो समूहमा प्रत्येक वर्ष कोही न कोही नयाँ साथीहरु थपिएका हुन्थे जस्ले गर्दा यात्रामा कसैलाई पनि अप्ठेरो नहोस् भनेर हामी पूर्व तयारी चाँही गर्थ्यौ । यसपालीको पदयात्रामा पनि हामीसँग केही नयाँ साथीहरु हुनुहुन्थ्यो जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, पत्रकार सुरेश श्रेष्ठ, कृष्ण लामिछाने, गोकर्ण सुबेदी (दश वर्ष अगाडि पहिलो पटकको सँगै शुरुवात गर्दाको सदस्य) बाँकी हामी नियमित साथी सदस्यहरु रमेश, नरेन्द्र, अशोक, बिष्णु सुमन ।
दसैं अघि भएका छलफलले पदयात्राको महत्व मात्रै हैन, बिकासमा आन्तरिक पर्यटनलाई टेवा पुर्याउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ भनेर साथी अशोकले नयाँ प्रस्ताव गर्नु भयो ‘कम्तिमा ११ औ वर्षगाठ मनाउने र केही सन्देश लेखेको टि–सर्ट’ बनाउने । सबै साथीहरुको एकमत रह्यो । हामीले ह्यास ट्याग सहित सामाजिक सन्जालमा पनि अभियान चलाऊने गरी नारा बनायौ # promotelocaltourism # tourism4development # willcontinue दसैंको टिकाको भोलिपल्ट हाम्रो यात्रा शुरु भयो पोखरा हुँदै । पहिलो दिन काढे, दोस्रो दिन अष्ट्रेलियन क्याम्प हुँदै लो क्याम्प, तेस्रोदिन लोक्याम्पबाट बादले डाँडा हुँदै हा क्याम्प, चौथो दिन मार्दी बेसक्याम्पबाट पुन पोखरा झर्यौ र पाचौदिन हेटौंडा फर्क्यौ । यो बिचमा धेरै कुराको सिकाई रह्यो । आन्तरिक पर्यटनको चाहल पहल, फेरिएको नेपालीको बानी ब्योहोरा, घुम्ने बानीको बिकास, दसैंको लामो छुट्टी मनाउने शैलीले केही नयाँपन मात्रै हैन अलिकति ब्यबस्थित गर्नसके आन्तरिक पर्यटनले नै देश बिकासमा मद्दत् गर्नसक्छ भन्ने देखियो पनि । कतिसम्म आन्तरिक पर्यटक थिए भने बिहान ३ बजेदेखि उकालो चढेका पर्यटकहरुको लाम नौबिसेमा लाग्ने जाम जत्तिकै थियो, उकालो चढेको पत्तै पाइन्न । पाइला सार्दै अड्कदै अघिल्लो साथीलाई उकाल्दै लाइन लागेर चढदाको रमाइलो नै भिन्नै । राके जुलुस जस्तो २÷३ किमी परसम्म टर्च लाइटको लाइन देख्दा अप्ठेरो बाटो र ठाडै उकालो चढेको पनि यादै नहुने । जब भ्यु प्वाइन्टमा पुगिन्छ दुई दिनदेखिको थकान एक्कासी हराउँछ माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखैमा पुग्दाको आनन्द त यहाँ वर्णन गरेर साध्य छैन ।

पदयात्राका क्रममा केही रमाइला दृष्य देखियो जुन हामीले दशवर्ष देखि भोग्दै आएका थियांै । पहिलोस् अहिले पनि नेपालीलाई पर्यटक मानेर स्वागत गर्ने बानी पेरिसकेको रहेनछ, बिदेशी पाहुनामात्रै पर्यटक मान्ने, सुबिधा पनि उनिहरुलाई प्राथमिकतामा राखिने गर्नाले सबै आन्तरिक पर्यटक्को मन खल्लो बनाइनै रह्यो । हामीले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नपर्छ भनेर एकदशक अगाडि घुम्न शुरु गर्दा नेपालीलाई भरिया कै रुपमा मात्रै बुझ्ने बानी अलिकति मात्रै परिवर्तन भएको त रहेछ तर हस्पिटालिटिको हिसाबले अरु खासै परिवर्तन देखिएन । दोस्रो पदयात्रामा सबैभन्दा ठुलो समस्या भनेको खाना र बासको रहेको छ, पदयात्रामा निस्कने सयांै आन्तरिक पर्यटक अलपत्र पर्ने अवस्था अहिले पनि जस्ताको त्यस्तै रहेको छ । एउटा सानो रुममा १५÷२० जनासम्म सुत्नुपर्ने अवस्था अझैपनि रहेको छ । तेस्रो अब्यबस्थित पैदल मार्ग, हामी मार्दी हाई क्याम्पबाट फर्कंदा फरक पदमार्गबाट फर्कंने निधो गर्यौ र सिदिङ्ग हुँदै झर्यौ जुन पदमार्ग हिंड्नकालागी उपयुक्त छैन, छोटो भएपनि उरालो र भत्केका बाटोले गर्दा पदयात्री दुर्घटनामा पर्ने सम्भावना पनि उत्तिकै रहेको छ, तल फेदिमा नपुग्दासम्म पानी खाने बस्ने राम्रो ठाउँपनि छैन ।
महँगो खाना र टर्हो बोली पदयात्रा गर्दा, हिमाल छेउ पुग्दा जति आनन्द हामीले महशुस गर्छौ त्यति नै होटल सन्चालकको बोलि, व्यबहार र जथाभावी लिइने रकमले मन अमिलो बनाउँछ । खाना खादा खाएको एककप पानीको पैसा राम्रै लिन्छन, खानाको पनि आवश्यकता भन्दा बढी पैसा तिर्नु पर्ने हुन्छ । किन यति पैसा भन्यो भने टर्हो र रुखो बोलीले जवाफ दिन्छन । प्रहरी, प्रशासनको उपस्थिति नै देखिंदैन, त्यात्रो समुह त्यति लामो पदमार्गमा निस्केको स्थानमा पदमार्गमा ’सिग्नल’ बाहेक कहिकतै कसैको उपस्थिति, रेकर्ड, स्वास्थ्य केन्द्र, सुचना केन्द्र केही देखिन्न । भेटिन्न जस्ले गर्दा पर्यटकलाई केही समस्या आए, दुर्घटना भए, दुर्व्यबहार भएमा कोही जिम्मेवार ब्यक्ति, संस्था भेटिन्नन जस्ले गर्दा यात्राामा आइपर्ने सबै समस्याका समाधान आँफै गर्नुपर्ने हुन्छ ।
अली, अली समस्या नआए पदयात्रा सम्झना योग्य पनि हुन्न त्यसैले पनि सानातिना समस्यालाई आँफैले समाधान गर्दै पदयात्रा सम्पन्न गर्नुको मज्जानै भिन्नै । हामीले यही भन्दै पदयात्रा शुरु गरेको पनि दशक पुगेको छ । वर्षको एकपटक आफ्नै डाडापाखा घुम्दाको मज्जा तपाईं कहिकतै पाउनु हुन्न । त्यसैले पनि घुम्ने बानीको बिकास गरौ । देश बिकासमा तपाईंको पनि योगदान रहोस् । पदयात्रामा निस्कनुस् देश चिन्नुस्, यही भएका रहनसहन, प्राकृतिक मनोरमतामा रमाउनुस् ।

प्रतिकृया दिनुहोस