प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नेता र शुभेच्छुकको घुइँचो

कात्तिक १२ काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएको थाहा पाउनेबित्तिकै धेरैले उहाँको स्वास्थ्यअवस्थाबारे सोधीखोजी गरेका छन् । शिक्षण अस्पताल महाराजगंजमा नेता, कार्यकर्तादेखि शुभेच्छुकको घुईंचो लागेको छ ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुग्नुभएको छ । यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कनुभएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिनुभयो । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट अर्थात सीसीयूमा राखिएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले उज्यालोलाई जानकारी दिनुभयो ।छातीमा संक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास संलग्न हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयले हिजो विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो । 

प्रतिकृया दिनुहोस