सम–सामयिकनेपाल र मलेसियाबीच श्रम सम्झौता

कात्तिक १२ काठमाडौँ

नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमवार दुईपक्षीय सम्झौता भएको छ । आइतवार राति काठमाडौं आइपुगेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान र नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टबीच काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौता भएको हो । मन्त्री बिष्ट नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र कुलासेगरान नेतृत्वको मलेसियाली प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच श्रमिक आपूर्ति सम्बन्धी सम्झौता भएको हो । प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल भएको जनाइएको छ । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने प्रावधान समझदारीपत्रमा समेटिएको छ । अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ । त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गरेको जनाइएको छ । समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ । 

प्रतिकृया दिनुहोस