सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी  पदबाट बर्खास्त

 कात्तिक २७, २०७५ मंगलबार 
 – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ ।नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।सोडारीको ठाउँमा तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णराज सुवेदीलाई ल्याउने तयारी रहेको छ ।पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो । 

मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार सोडारीलाई हटाइएको निर्णय प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराई सकिएको छ।

२३ कात्तिक राती उनी सवार बा। २ झ ३१२५ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्गको कैलालीस्थित बडैपुरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । तिब्रगतिमा रहेको उनको गाडीले से। ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।

उनी तत्कालै भाग्न खोजेका थिए । तर, स्थानीय बासिन्दाले उनलाई भाग्न खोज्दा समातेको थियो । त्यो घटनापछि उनको चर्को आलोचना भएको थियो ।

दुर्घटनामा उनका चालक धोजेन्द्र शाही, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ भने सुरेन्द्रको अवस्था गम्भीर रहेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालर्यले उनको कार्यशैली सन्तोषजनक नभएको र सामाजिक विकासमन्त्रालयमा फजुल खर्च धेरै भएकाले पदमुक्त गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस