नयाँ कर्मचारीका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’ को छुट्टै व्यवस्था हुने

काठमाडौं १८ मसिंर 

सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन र देशमा अनावश्यक वित्तीय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।अर्थमन्त्री खतिवडाले योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पार्नुभयो । अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दाबी समेत गर्नुभयो ।अर्थमन्त्री अतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिव पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढि  निवृतभरणको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।उहाँले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गर्नु भयो । समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस