टीकापुर घटनालाई राजनीतिकरुपमा समाधान गर्न माग

कैलाली१८  मंसिर

तीन वर्षअघि कैलालीको टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनालाई राजनीतिकरुपमा समाधान गर्न माग गरिएको छ ।थरुहट/थारुवान आन्दोलनकाक्रममा भएको घटना राजनीतिक रहेकाले राजनीतिक मुद्दाकैरुपमा समाधान गर्नुपर्ने थारु कल्याणकारिणीसभा कैलालीले माग गरेको हो ।मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरिएको हो ।टीकापुर घटना राजनीतिक रहेको भन्दै यसलाई राजनीतिक मु्द्दाकैरुपमा सम्बोधन गर्नुपर्ने जिकिर थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले गरे ।थारु कल्याणकारिणीसभा कैलालीले सांसद निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचित प्रमाणपत्र दिन र शपथग्रहणको व्यवस्था तत्काल गरिनुपर्ने मागसमेत गरेको छ ।यस्तै, घटनाका बन्दीहरुलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने माग गरिएको छ ।टीकापुर घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ ।थरुहट/थारुवान आन्दोलनकाक्रममा वि.सं. २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो ।सरकारले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका–चोरी मुद्दा लगाएको छ । मुद्दा लागेकामध्ये ३२ जना अझैसम्म फरार छन् ।पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद निर्वाचित चौधरीलाई काठमाडौंमा र दुईजना नाबालकहरुलाई सुधारगृह पोखरामा राखिएको छ ।टीकापुर घटनालगत्तै गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन ।सो घटनाको न्याय–निसाफमा ढिलाइ भएको भन्दै थारु कल्याणकारिणीसभाले कैलालीका १३ ओटै स्थानीय तहमा टीकापुर घटनाबारे जागरण अभियान सन्चालन गर्ने जनाएको छ ।यही मंसिर २३ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइने जनाइएको छ ।२४ गतेदेखि जागरण अभियानको थालनी गर्ने र यसको सुरुआत टीकापुरबाट गरिने उल्लेख गरिएको छ ।पहिलो चरणमा दुई महिनासम्म जागरण अभियान, दोस्रो चरणमा धर्ना कार्यक्रम गर्ने र माग सम्बोधन नभए सशक्तरुपमा सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस