सांसदलाई मन्त्रीको जवाफ : म गम्भीर छु, दोषीलाई कारबाही गर्छु

काठमाडौं १९ मसिंर

संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरीद प्रक्रियामा भएको भनिएको अनियमिताबारे आफू गम्भीर भएको र दोषीलाई सरकारले कारबाही गरि छाड्ने प्रतिबद्धता जनाएका छन् ।संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वाइडबडी खरिदबारे मन्त्रालयले गम्भीरता पूर्वक लिँदै छानबिन गरिरहेको र दोषी पाइए कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।बुधबार समितिमा उपस्थित भएका अधिकारले वाइडबडी खरिदमा भएको अपारदर्शिताबारे मन्त्रीले सतही विवरण पेश गरेर गम्भीरता नदेखाएको आरोप लगाएपछि जवाफमा उनले आफूले गम्भीरता पूर्वक लिएको दाबी गरेका हुन् ।समितिमा सत्तारुढ नेकपाकै सांसदहरुले मन्त्री अधिकारमाथि खनिएका थिए । नेकपाका सांसदहरु हृदेश त्रिपाठी, विरोध खतिवडा, प्रेम आले मगर, अमनलाल मोदी, चन्दा चपाईलगायतले मन्त्रीले नै भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाए ।समितिमा हृदेश त्रिपाठीले विद्यार्थी नेताको जस्तो भाषण गरेर समितिलाई अलमलमा नपार्न र सरकारलाई वाइडबडी खरिद गरेपछि थप २० अर्ब रुपैयाँ मागेर सरकारलाई नै डुबाउन खोजेको बताए ।वाइडबडी खरिद गर्दा सार्वजनिक गरिद ऐन मिचिएको र आर्थिक अपारदर्शिता भएको भन्दै संसदको लेखा र अन्तराष्ट्रिय सम्बन्ध समितिले छानबिन अघि बढाएको छ ।सांसदहरुले विजनेश प्लान विनै विमान खरिद गरेको, बिचौलिया कम्पनीबाट खरिद गरिएको, २४२ टन क्षमताको विमान हुनुपर्नेमा २३० टन क्षमता किन ल्याइएको?, युरोपेली युनियनको कालोसूचीबाट नेपाल वायु सेवा निगमलाई हटाउन पहल नगरेको भन्दै प्रश्न उठाएका थिए ।जवाफमा मन्त्री अधिकारीले विमानलाई पूर्ण क्षमतामा उडाउन नयाँ गन्तव्यको खोजी भइरहेको, कालोसूचीबाट हटाउने प्रयास भइरहेको र वायू सेवा निगमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए ।

प्रतिकृया दिनुहोस