भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

हवाना : 

क्युबाली राष्ट्रपति माइगेल दायस क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन् । संसद्को बैठकलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गरेका हुन् । उनले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको वा प्रहरीको मात्र काम नभएको बताउँदै सबै देशवासीलाई यसमा सहयोग गर्न आह्वान गरे । 

देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण सम्भव रहेकोमा उनले जोड दिए । उनले समाजमा अपराधका घटनामा भएको वृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पुर्‍याउन पनि सबैलाई आग्रह गरेका थिए । यस्ता समाजका बेथितीमा नागरिक एकता भएमा मात्र शान्ति, सुव्यवस्था र सुशासनका लागि सहज हुने धारणा पनि उनले राखेको जनाइएको छ ।

 क्युबामा केही वर्षदेखि भ्रष्टाचार एक जटिल समस्याको रूपमा देखिएको छ । कतिपय अधिकारीले भ्रष्टाचारका कारणले देशमा आर्थिक तथा वित्तीय समस्या उत्पन्न भएको बताउने गरेका छन् । त्यसैले भ्रष्टाचारलाई देश विकासको प्रमुख बाधकका साथै समाजमा अशान्ति र अस्थिरता उत्पन्न गर्ने तत्वका रूपमा लिएर सबैजना मिलेर भ्रष्टाचार अन्त्य गर्नुपर्ने उनले बताए । यहाँको महालेखा परीक्षकसम्बन्धी गतवर्षको प्रतिवेदनअनुसार गतवर्ष मात्र यहाँका करिब ३६१ ओटा सरकारी निकायमा आर्थिक अनियमितता भएको पाइएको थियो ।

 त्यस अनियमितताबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको पनि उक्त कार्यालयको पछिल्लो प्रतिवेदनमा रहेको छ । यी अनियमितताका कारण त्यसमा संलग्नताको आशंकमा १२ सयभन्दा बढी सरकारी कर्मचारीमाथि प्रश्न पनि गरिएको छ । उनीहरू निलम्बनमा परेका छन् ।

 क्युबा सरकारले सन् २००९ मा यो कार्यालय स्थापना गरेर भ्रष्टाचारविरोधी क्रियाकलापको अनुसन्धान थालेको थियो । सरकारले त्यसपछि भ्रष्टाचार गर्ने कर्मचारीका विरुद्धमा कडा कारबाही गर्ने कानुन पनि बनाएको छ । उक्त कानुनबमोजिम कैयौँ कर्मचारी भ्रष्टाचारको कारबाहीमा पनि परेका छन् । राष्ट्रपति क्यानेलले भ्रष्टाचारविरुद्ध कडा कदम चालिने र यसमा संलग्न हुनेलाई कदापि नछोडिने भनाइ पटक पटक राख्दै आएका छन् । एएफपी

प्रतिकृया दिनुहोस