सपना सुरक्षित यात्राको

रेल–वे स्टेसनबाट बाहिर निस्कनासाथ फराकिलो सडक भेटिन्छ। सडकमा टाढैबाट देखिने जेब्रा क्रसिङका गाढा सेतो रंग रेखाहरू छन्। स्टेसनबाट निस्केर सडकको फुटपाथमा आइपुगेका पैदलयात्रुलाई देख्नासाथ सडकमा गुडिरहेका गाडी टक्क अडिन्छन्।

केही महिनाअघि अस्ट्रेलियाको सिड्नी घुम्ने क्रममा देखेको यो दृश्य आज पनि मेरो आँखामा झलझली आइरहन्छ। सिड्नी पुगेपछि सुरुका दिनमा त्यहाँका मानिस सडकमा त्यति बिघ्न अनुशासित छन् भन्ने मलाई थाहा थिएन। एक दिन कोगराको रेल–वे स्टेसनबाट बाहिर निस्की आफ्नो वासस्थानतर्फ लाग्दै थियौं। साना केटाकेटी पनि सँगै भएकाले फुटपाथमा केहीबेर तिनैसँग अलमलिनुपर्‍यो। यसो टाउको उठाएर सडकमा हेर्दा छक्कै परें। जेब्रा क्रसिङभन्दा केही मिटर परै हामीले बाटो काट्ने प्रतीक्षा गरेर बसेका गाडीको पंक्ति नै लागिसकेको रहेछ। तीमध्ये एक गाडी चालकलाई सायद धेरै हतारो भएर होला, उनले हात हल्लाउँदै हामीलाई छिटो बाटो काट्न इशारा गरेछन्। त्यो पनि हामीले वास्ता नगरेपछि उनी हातमुख दुवै एकैपटक चलाउँदै (सायद हामीलाई गाली गर्दै) आफ्नो गन्तव्यतिर लागे। पछि पो सिड्नीमै अध्ययनरत बहिनीले भनिन्, ‘यहाँ बाटो काट्नुअघि धेरै गफ गर्ने र अल्मल्निे गर्नु हुँदैन, जेब्रा क्रसिङमा गाडी रोकेर बस्नेलाई कति हतार होला।’ उनको कुरा सुनेपछि मनमनै कल्पना गरेँ, नेपाल पुगेपछि पनि त्यति नै व्यवस्थित सडक र सबैले त्यतिकै सडक अनुशासन पालना गरेको देख्न पाए कस्तो हुन्थ्यो होला !

छोटो समयको भ्रमणमा पनि मैले जहाँ पायो त्यहाँ थुक्नु हुँदैन, मनपरी फोहोर फाल्नुहुँदैन, सडकमा सीमित गतिभन्दा बढीमा गाडी कुदाउन हुँदैन भन्ने सिकेँ। विदेशमै लामो समय बसेर फर्किएकाले यी शिक्षा बिर्सेको देख्दा भने उदेक लाग्यो।

विडम्बना के हो भने, अध्ययनका लागि लामो समय विदेश बसेका वा उतैको पीआर र ग्रिनकार्ड लिएकाले समेत नेपाल आएका बेला अनुशासनहीन व्यवहार देखाउन पछि पर्दैनन्। केही महिनाअघि ललितपुरको हात्तीवनमा भएको एक सडक दुर्घटना यसको उदाहरण हो। न्युजिल्यान्डमा लामो समयदेखि बस्दै आएका एक युवा नेपाल आएपछि हात्तीवनस्थित एक अपार्टमेन्टमा आमासँगै बस्थे। एक दिन उनका घरमा पाहुना आउनेवाला थिए। उनीहरूकै लागि सातदोबाटोमा केही किनमेल गरेर फर्कने क्रममा आफ्नो अपार्टमेन्ट अगाडि आइपुगेपछि उनले साइड लाइट नै नबाली द्रुतगतिमा आइरहेको आफ्नो गाडी मोडे। उनले कुनै संकेत नै नदिई गाडी मोडेकाले गोदावरीतर्फबाट आइरहेको स्कुटर गाडीमा ठोक्कियो। स्कुटरमा सवार गोदामचौर निवासी रामेश्वर कार्की र उनकी पत्नी घाइते भए। नेपाल आएर केही दिन बस्दा रोड क्रस गर्ने क्रममा साइड लाइट बाल्नुपर्छ भन्ने हेक्कासमेत ती युवामा आएन। नेपालको नियम पालना नगरे पनि हुन्छ भन्ने लागेर हो सायद उनले गरेको सानो लापरवाहीले दुर्घटना निम्तियो।

यो त सानो उदाहरण हो, सडक अनुशासनको उल्लंघन त हाम्रो आम प्रवृत्तिजस्तो भइसकेको छ। सडक अनुशासन उल्लंघनमा टिपर पहिलो नम्बरमा आउन थालेको छ। टिपर आतंकले सडक नै त्रासमय बन्न थालेको छ। हालै मात्र साँगाको प्रहरी स्कुलमा अध्ययनरत एक विद्यार्थी लिन जाने क्रममा लोकन्थली निवासी हरि कटुवाल र उनकी बहिनी (विद्यार्थीकी आमा) र विद्यार्थी गरी तीनै जनालाई टिपरले ठक्कर दिँदा उनीहरूको निधन भएको थियो। यसैको केही समयपछि जडीबुटीमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा टिपरले ठक्कर दिँदा दुई व्यक्तिले ज्याए गुमाए। प्लस टु सकाएर उच्च शिक्षाको सपना बुनेर काठमाडौं आएकी एक युवतीको केही दिनअघि सोल्टीमोडमा एक टिपरले ज्यान लियो।

सडकमा सवारीसाधन चलाउने क्रममा कोही एक जनाले गरेको सानो लापरवाहीले अर्काको ज्यान नै लिनु अपराध हो। थोरै मात्र ठक्कर दिएर लडेका स्कुटर र बाइकलाई पनि दोहोर्‍याएर उनैमाथि चढाउने सम्मको क्रुरताले धेरैको ज्यान गएको सुनिन्छ। यस्ता घटनाको उदाहरण दिँदै कतिपय ट्राफिक प्रहरीलाई गुनासो गर्दा ट्राफिक प्रहरीले भनेका थिए, ‘के गर्नु टिपरले त बायाँपट्टिको साधनलाई देख्दै देख्दैन।’

कानुनको फितलो कार्यान्वयन

टिपरकै कारण एकपछि अर्को दुर्घटना भइरहँदा पनि चालक रत्तिभर आत्तिएको देखिन्न। कानुनको फितलो कार्यान्वयनले गर्दा चालकमा जे गरे पनि उन्मुक्ति पाइहालिन्छ भन्ने भएकाले झनै अपराधउन्मुख भएजस्तो देखिन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) अनुसार चालकले ज्यान मार्ने मनसाय लिएर दुर्घटना गराई तत्काल ज्यान गएमा सर्वश्वसहित जन्मकैदको व्यवस्था गरिएको छ। सोही दफाको २ नम्बरमा दुर्घटना हुन सक्छ भनेर जानीजानी लापरवाही ढंगले सवारी चलाएर दुर्घटना गराई मान्छे मारे दुई वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ। त्यसैगरी, दफा नम्बर तीनमा भने सवारी चालकले कसैको ज्यान जान सक्छजस्तो लागेको तर उसले नदेखीकनै दुर्घटना भई ज्यान गए एक वर्ष कैद र दुई हजार जरिवानाको व्यवस्था गरिएको छ। प्रहरीले अधिकांश सवारी दुर्घटनाबाट मान्छे मरेको घटनामा दफा ३ मा टेकेर अदालतमा मुद्दा दर्ता गर्दै आएको छ। यसरी मुद्दा चलाउँदा दोषी चालक बढीमा ६ महिना मात्रै जेलमा बस्ने गरेको पाइन्छ।

सडक संरचनामै त्रुटि

सहरभित्र रहेका सडकका डिजाइनमै त्रुटि रहेका कारण पनि विभिन्न दुर्घटना निम्तिने गरेको रोड ट्राफिक इन्जिनियर आशिष गजुरेलको भनाइ छ। मुख्य चोकमा समेत दायाँ–बायाँबाहेक बीचको हाइ स्पिड लेन बनाइएकाले यसमा पनि झुक्किएर धेरै दुर्घटना हुने गरेको उनको तर्क छ। जहाँबाट पनि सवारीसाधन मोडेर लैजान मिल्ने कारणले पनि क्रस गर्ने र यु टर्न लिने क्रममा धेरै दुर्घटना हुने गरेको बुझाइ छ।

‘काठमाडौंको सडक भए पनि सहरी सडक भन्ने नै भएन’, उनले भने, ‘आउने र जाने ट्राफिक लाइटले छुट्याएको छैन।’ सहरभित्र हुनुपर्ने गति भनेको प्रतिघण्टा ३० देखि ३५ किलोमिटर मात्र भए पनि सडक खाली देख्नासाथ योभन्दा द्रुतगतिमा सवारीसाधन हुइँक्याउँदा पनि दुर्घटना निम्तिने उनले बताए। पैदलयात्रीलाई पनि सुरक्षित तवरले सडक काट्ने पूर्वाधार नै तयार पार्न नसकिएको बताउँदै उनले भने, ‘कतिपय ठाउँमा जेब्रा क्रसिङ नै छैनन्, भएका ठाउँमा पनि धेरै फिक्का भइसकेका छन्।’

उनका अनुसार सडकमा बत्ती नहुनु, भएका ठाउँमा पनि नबल्नु र सडकमा खाल्डाखुल्डी हुनु र वर्षामा तीनमा पानी जम्नुजस्ता सडक संरचनाका समस्या पनि दुर्घटनाका अन्य कारण हुन्।

दुर्घटनाले बिगार्दै मनोविज्ञान

पत्रकार रुपा खड्का भट्टराईका छोरा तीन वर्षका भए। छोरा जन्मिएदेखि नै आफूलाई स्कुटर चलाउने हिम्मत नआएको उनले गुनासो गरिन्। हरेक दिन आउने दुर्घटनाका खबरले फेरि स्कुटी चलाउने आँट नै नपलाएको उनले बताइन्।

टेलिभिजन कार्यक्रम समकोणमा कार्यरत पत्रकार लक्ष्मी बस्नेतले पनि धेरै समयसम्म आफ्नो स्कुटर थन्क्याएरै राखिन्। गाडीको चाप र दुर्घटनाका खबरले आफूलाई डर लागेकाले प्रायः नचलाउने र चलाइहाले पनि भित्री बाटो मात्रै प्रयोग गर्ने उनले बताइन्। कोटेश्वर माविकी शिक्षिका रश्मि खड्काले पनि स्कुटी चलाउन सिकेको धेरै भयो। दुर्घटनाका खबरकै कारण स्कुटी चलाउने हिम्मत जुटाउन नसकेको उनी सुनाउँछिन्।

सडक दुर्घटनाले आमजनताको मानसिकतामा पारेको असरको आयाम अझ फराकिलो छ। डेढ महिनादेखि मामाघरमा बस्दै आएका रिसित केसी आफ्नी आमालाई कहिले घर जाने भन्दै पिराउन थालिसकेका छन्। मामाघर आउन भनेपछि सधैं मरिमेट्ने छोराले यस्तो भनेको सुन्दा उनकी आमा पनि अचम्ममा परिन्। कारण बुझ्दै जाँदा थाहा लाग्यो, लोकन्थली चोकमै रहेको उनको मामाघरको कौशीबाट प्रायः देखिने सडक दुर्घटनाको दृश्यले उनलाई मामाघर नै अप्रिय बन्न थालेको रहेछ।

दिनहुँ पत्रपत्रिकामा दुर्घटनाका समाचार पढ्दा, टेलिभिजनमा हेर्दा र प्रत्यक्ष रूपमा दुर्घटना देख्दा बालबालिका, युवा र वयस्कलाई पनि मनोवैज्ञानिक असर पुगेको छ। यस्तो असर प्रायलाई छोटो अवधिका लागि मात्रै पर्ने भए पनि कसै–कसैलाई दीर्घकालीन रूपमै पर्ने मनोविद् डा. अनिता तामाङको अनुभव छ। डा. तामाङका अनुसार बालबालिकामा यसले पार्ने असरले गर्दा उनीहरू बाइक वा गाडीमा बस्न मात्रै नभई गाडी अगाडि जानसमेत डराउने हुन सक्छन्। यसले उनीहरूमा डर जगाउने, आत्मविश्वास घटाउने र चिन्ता बढाउने हुनाले बेलैमा साथीभाइ र परिवारले सावधानीको उपाय बताइदिनुपर्छ। यसो गर्दा उनीहरूमा हौसला जाग्ने कारणले लामो समयसम्मका लागि पर्न सक्ने मनोवैज्ञानिक प्रभावलाई कम गराउन सकिने डा. तामाङको सुझाव छ।

ठूला मानिसमा पर्ने मनोवैज्ञानिक समस्याका कारण कतिपयले स्कुटर र बाइक नै चलाउन छाडिदिने गरेको पाइन्छ। कतिपयले त सडकमा गुड्ने मात्रै नभई कैयौं वर्षसम्म हवाईजहाजसमेत चढ्न छाड्ने गरेको पाइएको छ। यस्तो अवस्थामा पनि परिवार र साथीभाइको राम्रो परामर्शले उनीहरूमा साहस बढ्दै जाने र पहिलेकै अवस्थामा फर्कन सक्ने डा. तामाङले बताइन्। कुनै पनि दुर्घटनाको समाचार सम्प्रेषण गर्दा विभिन्न सञ्चारमाध्यमले मृतकको संख्यामा भन्दा बाँच्ने मानिसको संख्यामा केन्द्रित रहेर समाचार प्रकाशन र प्रसारण गरे जनमानसमा पर्न सक्ने मनोवैज्ञानिक प्रभावलाई घटाउन सकिने उनको सुझाव छ।

छैन स्थानीय चासो

जनतालाई समस्या परे निश्चय पनि आफूले भोट दिएर जिताएका जनप्रतिनिधिलाई नै गुनासो पोख्छन्। धारामा खानेपानी नआउँदा, बाटो र ढल बिग्रिएमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलाई पनि धेरै फोन आउने गर्छ। तर सडक, खानेपानी र ढल आफ्नोमातहत नभएकाले त्यसमा आफूले तुरुन्तै केही गर्न नसक्ने उनको भनाइ छ। यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई पहल गर्ने काम आफूले गरिरहे पनि समस्या परेका बेला जनतालाई तुरुन्तै सेवा दिन नसक्ने भएकाले यी निकायलाई पनि महानगरपालिका मातहत ल्याउनुपर्ने उनको तर्क छ।

काठमाडौंका मुख्य सडकसँग जोडिएका भित्री सडक पनि बिग्रिएकाले वर्षाको समयमा धेरै दुर्घटना हुने गरेका छन्। यसलाई न्यूनीकरण गर्न र सुरक्षित सडकमा हिँड्ने जनताको अधिकार रक्षा गर्न हाल सम्पूर्ण वडाका वडाध्यक्ष पनि भित्री सडकको निर्माण र बत्ती राख्ने काममा लागेको खड्गी बताउँछिन्। काठमाडौंमा मात्रै नभई भक्तपुर र ललितपुरका वडाले पनि पोहोरभन्दा यस वर्ष आफ्नो वार्षिक बजेट निकै बढाएका छन्। त्यसैले सडक, ढललगायत निर्माण शीर्षकमा आफूले छुट्याएका बजेटको उचित सदुपयोग गर्दै जनप्रतिनिधिको उपस्थितिको आभाष जनतालाई दिलाउनु जरुरी छ।

तथ्यांकमा दुर्घटना

ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार उपत्यकामा बर्सेनि ६५ जना (४० प्रतिशत) पैदलयात्रुको मृत्यु हुने गरेको छ। त्यसैगरी, वार्षिक करिब चार सय ५० जना पैदलयात्रु अंगभंग तथा घाइते हुने गरेका छन्। नेपालभर वार्षिक करिब तीन सय जना पैदलयात्रु गलत दिशामा हिँडेको कारण मृत्यु हुने गरको पाइन्छ। त्यसैगरी, वार्षिक करिब एक सय ५० जनाभन्दा बढी पैदलयात्रु सही स्थानबाट सही तरिकाले बाटो नकाट्नाले मृत्युको मुखमा पुगेका छन् भने वार्षिक करिब सय जना पैदलयात्रु रातको समयमा चम्किलो लुगा नलगाउनाले ज्यान गुमाउने गरको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अध्ययनबाट देखिएको छ।

सवारी दुर्घटनामा परी अंगभंग तथा जनधनको क्षति हुनबाट जोगिन सडक अनुशासन र ट्राफिक नियम पालना गर्नु जरुरी देखिन्छ। सडक पेटी र जेब्राक्रसिङ प्रयोग गर्दा अरूलाई बेवास्ता गरी तँछाडमछाड गर्ने धेरैको बानी हुन्छ। यस्तो बानीलाई सुधार्नु जरुरी हुन्छ। बाटो काट्दा वा सवारीसाधन चलाउँदा मोबाइल फोनको अत्यधिक प्रयोग भएको देखिन्छ। यसो गर्नु पनि दुर्घटनालाई निम्त्याउनु हो। रोकिराखेको सवारीसाधनको अगाडि वा पछाडिबाट पनि बाटो काट्दा दुर्घटना हुने सम्भावना बढी रहेकाले यसबाट सजग हुनु जरुरी छ।

सडकमा ठूला र साना सवारीसाधनको चाप धेरै बढिसकेको छ। यस्तो अवस्थामा झन्डै १२ सय संख्यामा मात्रै रहेको ट्राफिक प्रहरीको जनशक्ति पनि अपुग देखिन्छ। त्यसैले सडकमा जनतालाई सुरक्षित राख्न ट्राफिक प्रहरीको संख्या बढाउनेतर्फ सरकारको ध्यान जानु जरुरी देखिन्छ। विस्तारसँगै सडक झन् अव्यवस्थित बनेको छ। यस्तो सडकलाई व्यवस्थित बनाई सुरक्षित, सफा र राम्रो सडकमा हिँड्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षको पहलकदमी आजको आवश्यकता हो। अमूल्य जीवनलाई सुरक्षित राख्न सडक अनुशासन पालना गरी सडक सभ्यताको विकास गर्नु हामी सबैको कर्तव्य हो।

प्रतिकृया दिनुहोस