सुदूरपश्चिममा हिमपात, जनजीवन प्रभावित 

पौष २३,
मौसममा आएको परिवर्तनका कारण बैतडी सहित सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा आइतबार राति देखि हिमपात शुरु भएको छ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यस्तै दार्चुलाको दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउमा हिमपात भएको छ।  डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क , हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको हो। हिमपात भए सँगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ। हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानु पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।  यसै बीच लामो समयको खडेरी पछि हिमपात भएकाले किसानहरु खुसी भएका छन् । हिमपातले हिउँदे बाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन्। हिमपातले गहुँ लगायतका हिउँदे बाली हुर्कन सहयोग गर्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। 
 

प्रतिकृया दिनुहोस